काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित भविष्य निर्माण युवा क्लब समाजकल्याणको आयोजनामा प्रथम खुल्ला फुटबल प्रतियोगिता- २०८२ सम्पन्न भएको छ ।
पाँचखाल नगरपालिकाको सहयोगमा आयोजना गरिएको उक्त फुटबल प्रतियोगिताको उपाधी भने ब्राइट स्टार क्लबले जितेको छ । फाईनल खेलमा पाँचखाल वडा नं ७ लाई २-० गोलको अन्तरले हराउँदै ब्राइट स्टार क्लबले जित हात पारेको हो । प्रतियोगितामा उपाधी जितेको ब्राइट स्टार क्लबलाई नगद १,००,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उपविजेता बनेको पाँचखाल वडा नं ७ ले नगद ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले खेल क्षेत्र आपसी सद्भाव, सम्बन्ध तथा स्वस्थ्य समाज निर्माण गर्ने प्रमुख आधार भएकोले खेल क्षेत्रको विकासमा सबैले लाग्न जरूरी रहेको बताए । उनले खेललाई प्रतिस्पर्धा भन्दा पनि मित्रता र एकताको माध्यमका रूपमा बुझ्न जरुरी रहेको बताए ।
नगर प्रमुख खरेलले खेलकुद क्षेत्रको बिकासमा नगरपालिकाले विशेष जोड दिदै आएको समेत जानकारी दिनुभयो । त्यस्तै आयोजक क्लबका अध्यक्ष सुबास श्रेष्ठले आगामी दिनहरुमा पनि क्लबले युवाहरुको लागि विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै जाने जानकारी दिए । क्लबका कोषाध्यक्ष मनिष दुलालले व्यवस्थापनमा केहि कमी कमजोरी भएको भए आगामी दिनमा यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए । साथै दुलालले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नु हुने स्थानीय, व्यावसायीहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्तिक १० गते देखि सुरु भएको प्रतियोगिताको उदघाटन पाँचखाल नगरपालिकाकी उपप्रमुख सुर्यमाया दनुवारले गरेकी थिईन । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।



















