काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा रहेका जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, र त्रिवेणी स्पिनिङ मिल्सले धरौटीका रूपमा पहिलो किस्ता बुझाएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, बुधबार यी उद्योगले कुल २८ किस्तामध्ये पहिलो किस्ताको रकम तिरेका हुन्। जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराही सिमेन्टले १ करोड ८१ लाख, अर्घाखाँची सिमेन्टले १ करोड ६० लाख, जगदम्बा सिन्थेटिकले ७३ लाख २२ हजार, र त्रिवेणी स्पिनिङ मिल्सले १ करोड १४ लाख रुपैयाँ बुझाएको छ।
प्राधिकरणले बक्यौता नबुझाउने २३ उद्योगको बिजुली ४ र ७ कात्तिकमा काटेको थियो। रकम तिरेपछि यी उद्योगहरूमा विद्युत् लाइन पुनः जोडिएको छ।
तिहारयता भलवारी स्वचालित चामल उद्योग, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, श्याम प्लास्टिक, सिद्धार्थ पेट प्लास्ट, घराना फुड्स, गोयन्का फुड्स, रिलायन्स स्पिनिङ मिल्स, त्रिवेणी सिन्थेटिक, जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, त्रिवेणी स्पिनिङ मिल्स, र सोनापुर मिनरल्स एन्ड आयल लगायत उद्योगले रकम जम्मा गरेको प्राधिकरणले जनाएको छ।
बक्यौता तिर्न इच्छुक उद्योगीका लागि २८ महिनासम्म किस्ताबन्दीको सुविधा उपलब्ध गराइनेछ। प्राधिकरणले १३ असोज २०८२ मा अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो र त्यसपछि ७ कात्तिकदेखि बिजुली काट्न सुरु गरेको थियो।



















