काठमाडौँ । आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टीतेलमा ३ रुपैयाँ वृद्धि गरेको हो।
भारतीय आयल निगमबाट आएको मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ ४५ पैसा र डिजेल ६ रुपैयाँ ५३ पैसा बढेको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ मात्रै वृद्धि गरेको छ।
नयाँ मूल्य अनुसार, पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १५८.५० रुपैयाँ र डिजेल/मट्टीतेल १४४.५० रुपैयाँ पर्नेछ।
दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोल १६० रुपैयाँ र डिजेल/मट्टीतेल १४६ रुपैयाँ कायम भएको छ। तेस्रो वर्गका काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल/मट्टीतेल १४७ रुपैयाँ पर्नेछ।
खाना पकाउने ग्यासको मूल्य भने हाल यथावत् रहेको निगमले जनाएको छ।



















