मंगलबार, बैशाख ०८, २०८३
सिमरामा जेन–जी युवाको विरोध प्रदर्शन उग्र बन्दा आज बेलुका ८ बजेसम्म कर्फ्यू

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारामा प्रवेश गर्ने जानकारी सार्वजनिक भएपछि सिमरामा जेन–जी युवाहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्। बुधबार एमालेको कार्यक्रममा सहभागी हुन उनीहरू बुद्ध एयरको जहाजमार्फत सिमरा आउँदै थिए।

सिमरा विमानस्थल जान लागेको सूचना पाएपछि जेन–जी युवाहरू सडकमा उत्रिएका थिए र टायर बाल्दै विरोध जारी राखेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। साथै सम्भावित क्षति रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रका अनुसार सिमरा विमानस्थल वरिपरि र जीतपुर सिमरा उपमहानगरपालिकाको निर्धारित चारकिल्लाभित्र सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन, तथा स्थिति थप अवनति हुन नदिन कर्फ्यू लगाइएको हो।

आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने कर्फ्यू स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) अनुसार जारी गरिएको हो। गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्र तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर परिधिभित्र आवतजावत, भेला, जुलुस, सभा–समारोह, प्रदर्शन तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको आदेशमा उल्लेख छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय