काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल प्रहरीलाई कम्प्युटर र सन्देशमूलक बोर्ड सहयोग गरेको छ । कम्पनीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पाँच थान कम्प्युटर र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा गगनगौँडालाई ७५ थान ट्राफिकसँग सम्बन्धित सूचनामूलक सडक बोर्डहरू सहयोग प्रदान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुलीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीलाई कम्प्युटर र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडाका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालाई बोर्ड हस्तान्तरण गरे ।
सामग्री हस्तान्तरणपछि सिइओ पराजुलीले यी सामग्रीबाट प्रहरी र ट्राफिक प्रहरीलाई दैनिक कार्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । शान्तिसुरक्षा कायम गर्नु, अपराध नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न सबैको सहयोगको आवश्यक पर्ने पराजुलीको भनाइ थियो । ट्राफिक गगनगौँडाका प्रमुखले सहयोग प्राप्त सामग्रीले आफूहरूको दैनिक काममा सहजता ल्याउने बताए ।



















