सोमबार, बैशाख ०७, २०८३
जनताको असन्तुष्टिको नेतृत्व गर्न सकेनौं : वर्षमान पुन

दाङ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले माओवादीले जनताको असन्तुष्टिको नेतृत्व गर्न नसकेको बताएका छन् ।

दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पुनले कांग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको बारे बेलैमा सचेत गराएको पनि बताए । माओवादीले त्यतिबेलै जनतामा असन्तुष्टि चुलिएको र कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्नेबारे सचेत पनि कांग्रेस र एमाले नेतृत्वले सुन्न नचाहेको पुनले जिकिर गरे ।

‘कांगेस र एमालेका नेताहरूले यस्तै प्रकारको शासन सञ्चालन गरिराख्ने हो भने, जनतालाई जसरी हेपिराखिएको छ । जनताको असन्तुष्टिलाई आत्मसात गरिएको छैन । यो अवस्थामा कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्छ भनिराखेका थियौं,’ उनले भने ।

पुनले थपे, ‘यहींनेर हाम्रो कमजोरी के भने भने हामीले व्याख्या गर्‍यौं, विश्लेषण गर्‍यौं तर जनताको त्यो असन्तुष्टिलाई नेतृत्व गर्न सकेनौं ।’

जनतालाई हेप्दाको परिमाण तत्कालीन सत्तासीन दलहरूसँगै देशले नै भोग्नुपरेको बताए । सुशासनका लागि काम गर्दा नियोजित रूपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालेर कांग्रेस–एमाले मिलेको पनि पुनले आरोप लगाए ।

केपी ओली नेतृत्वको कांग्रेस–एमाले सरकारका गलत कामविरुद्ध आफूहरूले संसद र सडकबाट निरन्तर खबरदारी गर्दा पनि नसुनेको भन्दै पुनले सरकारको कुशासनका कारण जेनजी आन्दोलन भएको तर्क गरे । आगामी २१ फागुनमा घोषित मध्यावधि निर्वाचनमा आफ्नो दललाई पहिलो बनाउनबाट कसैले रोक्न नसक्ने दाबी पनि पुनले गरे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय