काठमाडौँ । ओपनर विनोद भण्डारीको अर्धशतकपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो। सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाएका छन्। उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यो उनको जारी एनपीएलको दोस्रो अर्धशतक हो।
विराटनगरविरुद्ध अर्धशतक बनाउँदा विनोद भण्डारी एनपीएलमा सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा पुगेका छन्। उनले ८ खेलबाट २६४ रन बनाएका छन्। पोखरा एभेन्जर्सका इंग्लिस विकेटकिपर एडम रोसिङटनले ७ खेलमा एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन्।
एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे भने, अर्का डेब्युटान्ट मुख्तर अहमदले विनोदसँग ओपनिङ गरे तर उनी १० रन बनाउदा आउट भए। २१ रनमा पहिलो विकेट गुमाएका सुदूरपश्चिमका लागि विनोद र शेल्डन ज्याक्सनले दोस्रो विकेटमा ४० रनको साझेदारी गरेका थिए।
विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे, तर साम हिजलेटको बलमा नरेन भट्टले बाउण्ड्री लाइनमा शानदार क्याच लिँदा पाण्डे १३ रनमा आउट भए। कप्तान दीपेन्द्र सिंह ऐरी दुई रन लिने चक्करमा रन आउट भए, त्यसपछि हर्मित सिंहले ११ बलमा १४ रन जोडे।
विनोद भण्डारी ६३ रन बनाउँदा सुदूरपश्चिमका अन्य ब्याटरहरुले उनको सहयोगमा इनिङ्स अघि बढाए। अन्तिम ओभरमा आरिफ शेख ३१ रनको साझेदारी पछि आउट भए। बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २-२ विकेट लिए भने, सूर्य तामाङ र साम हिजलेटले १-१ विकेट लिए। डे लाङले ४ ओभरमा २३ रन खर्चेका थिए।























