काभ्रे । काठमाडौं विश्वविद्यालय (केयु) को ३१औं दीक्षान्त समारोह आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित विश्वविद्यालय परिसरमा आयोजना हुँदैछ। पहिलो चरणमा २,२०९ विद्यार्थीलाई डिग्री प्रदान गरिने छ, जसमा १७ देशका १९६ विदेशी विद्यार्थी पनि सामेल छन्।
समारोहमा विश्वविद्यालयका विभिन्न स्कूलका विद्यार्थीहरू दीक्षित हुनेछन्। स्कुल अफ आर्ट्सबाट ८३, स्कुल अफ एजुकेशनबाट २९४, स्कुल अफ इञ्जिनियरिङबाट ३४०, स्कुल अफ म्यानेजमेन्टबाट ३७८, स्कुल अफ मेडिकल साइन्सेजबाट ८८१ र स्कुल अफ साइन्सबाट १९७ विद्यार्थीलाई डिग्री प्रदान गरिने छ।
प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा कार्यक्रम आयोजना हुनेछ, जसमा शिक्षा, विज्ञान र प्रविधि मन्त्री महावीर पुन र जवाहरलाल नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्।
दीक्षित विद्यार्थीहरूको संख्या ५०,४०० पुगेको छ, जसमा १२ प्रतिशत विदेशी विद्यार्थी रहेका छन्। २० औं वर्षमा केयुका ५८ देशका विद्यार्थी डिग्री प्राप्त गरिसकेका छन्।



















