काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वतहरूलाई प्रकृतिका अमूल्य धरोहरको रूपमा वर्णन गर्दै तिनको संरक्षणको आवश्यकता प्रति जोड दिएका छन् ।
२३औं विश्व पर्वत दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “हाम्रो देशको ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय छ र हामी हिमालयको काखमा अवस्थित छौं ।
जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमहरूको अग्रपङ्क्तिमा रहेको हाम्रो देशमा हिमनदीहरूको तीव्र पग्लन, नदीहरूको जलप्रवाहमा अस्थिरता, र लाखौँ मानिसहरूको जीवन जोखिममा परेको छ । यी समस्याहरू अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षरण र खाद्य असुरक्षाको रूपमा देखा पर्दछन्, जुन विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम हो।”
सन्देशमा उनले पर्वतहरूको महत्वलाई पुनः स्पष्ट गर्दै भने, “पर्वतहरूले जल, वन, जैविक विविधता र लाखौँ मानिसहरूको जीविका सुनिश्चित गर्ने आधार प्रदान गर्छन्। तर जलवायु परिवर्तनले हिमशृङ्खलाहरूलाई तीव्र गतिमा पगाल्न थालेको छ र यसले पर्वतीय पारिस्थितिकीय प्रणालीलाई असन्तुलित बनाइरहेको छ।”



















