बुधबार, बैशाख १६, २०८३
जनक माध्यमिक विद्यालय बन्दैछ: विद्यार्थीको विज्ञान र प्रविधि अनुसन्धानको केन्द्र

काभ्रे । जनक माध्यमिक विद्यालय, काभ्रेपलाञ्चोकका विद्यार्थीहरूले हाइड्रोपोनिक NFT (Nutrient Film Technique) पाइप प्रणाली प्रयोग गरी लसुन, प्याज र अन्य तरकारी उत्पादनमा उल्लेखनीय उपलब्धि हुन सक्ने औंल्याएका छन् । विद्यालयको STEAM क्लबका विद्यार्थीहरूले शिक्षकहरूको प्राविधिक सहयोगमा यो नवीन अनुसन्धान परियोजना सम्पन्न गरेका हुन् । यस परियोजनाले नेपालमा माटो बिना नै प्रविधिमैत्री कृषि अभ्यासलाई सशक्त बनाउन योगदान पुर्‍याउन सक्ने विद्यालयले जनाएको छ ।

विद्यार्थीहरूले परम्परागत माटोमा खेती गर्ने अभ्यासभन्दा अलग, पोषक तत्व मिसिएको पानी नियमित प्रवाह हुने हाइड्रोपोनिक पाइप प्रणाली निर्माण गरी त्यसमा लसुन र प्याजका बिरुवा रोपेर सफलता प्राप्त गरेका हुन् । परियोजनामा संलग्न विद्यार्थीहरूका अनुसार, NFT मोडेलले अत्यन्तै कम पानी, सीमित स्थान र न्यून स्याहारमा नै उत्पादन लिन सकिने देखिएको छ । विशेषगरी शहरी क्षेत्रमा माटो अभाव भएका ठाउँमा यो प्रविधि प्रभावकारी देखिने निष्कर्ष विद्यार्थीहरूले प्रस्तुत गरेका छन् ।

विद्यालयका विज्ञान शिक्षक तथा STEAM विभाग संयोजक युवराज भट्टराईका अनुसार, “हाइड्रोपोनिक प्रविधिले नेपालमा लोकप्रियता हाँसिल गर्न सक्ने पर्याप्त सम्भावना रहेको छ । विद्यार्थीहरूले आफैँले तयार गरेको पोषक घोल, पानीको प्रवाह नियन्त्रण प्रणाली, तथा पीभीसी पाइपमार्फत बिरुवाको जरामा निरन्तर पोषक प्रवाह गराएर वैज्ञानिक विधि प्रयोग खेती गर्न सक्नुलाई विद्यार्थीहरुको विज्ञान र प्रविधि प्रतिको नवप्रवर्तन अभिरुची र सामुदायिक विद्यालयको गुणस्तर मापनको सशक्त प्रमाणको रूपमा लिन सकिन्छ ।”

परियोजनामा विद्यार्थीहरूले चारफिट लामो तिन वटा NFT पाइप, मिनी वाटर–पम्प, रिजर्भोयर ट्याङ्की, टाइमर, तथा LED लाइट जडान गरी पूर्ण स्वचालित प्रणाली बनाएका छन् । उक्त संरचनामा पन्ध्रवटा बिरुवाका लागि होल बनाइएको थियो । लसुन तथा प्याजका बीऊहरुलाई कसरी पाइप भित्र सन्तुलित रूपमा वृद्धि गरी उत्पादन योग्य बनाउन सकिन्छ भनी परीक्षण गरिएको थियो । प्रयोगात्मक परिणामका आधारमा लसुन र प्याज दुवैको राम्रो अंकुरण, तिब्र वृद्धि र रोगको संक्रमण नदेखिएको विद्यार्थीहरूको प्रतिवेदनले उल्लेख गरेको छ ।

कक्षा ११ विज्ञान संकायका विद्यार्थी तथा जनक STEAM क्लबका अध्यक्ष प्रज्वल शाहले भने, “हामीले पानीमा नै खेती गर्न सकिन्छ भन्ने कुरा पढेका थियौँ, तर आफैँ प्रणाली तयार गरी विरुवाको वृद्धि र विकास भएको देख्दा निकै आत्मविश्वास बढेको छ । भविष्यमा हामी यसलाई कसरी जनस्तरमा किसान सम्म विस्तार गरी प्रयोगमा ल्याउने भन्नेमा योजना बनाइरहेका छौँ।”

विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले विद्यार्थीहरूको यस प्राविधिक क्षमतालाई उच्च मूल्यांकन गर्दै यस्तो अनुसन्धानमा आधारित परियोजना ग्रामीण विद्यालयका विद्यार्थीका लागि प्रेरणादायी र उदाहरणीय रहेको बताए । “हामीले अब विज्ञान, प्रविधि, इन्जिनियरिङ, कृषि र वातावरण–मैत्री सिकाइलाई थप प्रवर्द्धन गरी दिगो विकासलाई प्रबर्धन गर्नेछौँ,” उनले बताए । अनुसन्धान प्रतिवेदन अनुसार, NFT हाइड्रोपोनिक पाइप प्रणाली प्रयोग गरेर विद्यार्थीहरूले ७० देखि ९० प्रतिशत पानी बचत, रासायनिक मलको न्यून प्रयोग, तथा वर्षभर स्थिर उत्पादन सम्भव हुने निष्कर्ष निकालेका छन् ।यो मोडेल घरको छत, भान्साघरको वरिपरि वा सीमित जग्गा हुने शहरी क्षेत्रमा पनि सजिलै प्रयोगमा ल्याउन सकिन्छ ।

विद्यालयका प्रध्यानाध्यापकले पाठ्यक्रममा आधारित व्यावहारिक प्रोजेक्टलाई प्राथमिकता दिँदै आएको थप प्रष्ट पारेका छन् ।प्रधानाध्यापक पोख्रेलले भने,”विद्यार्थीहरूले स्वनिर्मित हाइड्रोपोनिक प्रणालीबाट यस्तो प्रभावकारी परिणाम ल्याउनुवैज्ञानिक सिकाइ तथा अनुसन्धान क्षमतामा आएको उल्लेखनीय प्रगति हो। निकट भविष्यमा हामी यसलाई व्यावसायिक मोडेलमा रुपान्तरण गर्ने योजना बनाउँदैछौँ ।”जनक माध्यमिक विद्यालयका विद्यार्थीको विज्ञान र प्रविधिप्रतिको रुचिलाई वृद्धि गर्न यस क्षेत्रमा काम गर्ने दाताहरुलाईथप सहयोग र सहकार्य गर्न समेत आग्रह समेत गरेको छ।

यस परियोजनाको विस्तृत प्रतिवेदनमा प्रणाली निर्माणदेखि परिणाम विश्लेषणसम्मका सबै पक्षहरू समेटिएका छन् । विद्यार्थीहरूले आफैँले तयार गरेको पोषक घोलमा NPK, क्याल्सियम नाइट्रेट, सुक्ष्म पोषक तत्व मिश्रण, तथा pH नियंत्रक प्रयोग गरिएको छ । पानीको pH 5.8–6.5 र इलेक्ट्रिकल कन्डक्टिभिटीको दायरा कायम राख्दै, बिरुवाको जराले आवश्यक पोषक फिल्म निरन्तर प्रवाहबाट अवशोषण गर्न सक्ने वातावरण बनाइएको थियो ।

विद्यार्थीहरूको अनुसन्धानले देखाएको अर्को महत्वपूर्ण तथ्य NFT प्रणालीमा रोग तथा कुनै पनि MoldGrowth नदेखिनु हो । माटो नभएकाले माटोजन्य कीरा तथा रोग हट्ने भएकाले प्रांगारिक प्रकारको खेती सम्भव हुने निष्कर्ष पनि प्रस्तुत गरिएको छ । यसबाट दिगो, नवीकरणीय र वातावरण–मैत्री कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

विद्यालयले गत असार १५ गते बागमती प्रदेश स्तरीय STEAM प्रतियोगितामा समेत वैज्ञानिक कृषिसम्बन्धी विभिन्न मोडेलहरू स्मार्ट भिलेज, साइन्स–फार्म, मिनी–ग्रीनहाउस, बायोग्याँस मोडेल, र वर्षा–पानी संकलन प्रणालीका उत्त्कृष्ट नमूनाहरु समेत प्रस्तुत गरिसकेको छ । यसैको थप शृंखलाको रूपमा समेत विद्यार्थीहरूको हाइड्रोपोनिक पाइप सिस्टम थपिएको विद्यालयका STEAM संयोजक तथा विज्ञान शिक्षक समाज नेपाल, काभ्रेका अध्यक्ष समेत रहेका भट्टराईले जानकारी दिनुभएको छ ।

विद्यार्थीहरूको टोलीले आगामी चरणमा स्ट्रबेरी, पुदिना, धनियाँ, सागपात तथा अन्य जलीय खेतीका बालीहरूमा पनि प्रयोग विस्तार गर्ने तयारी गरेको छ । हाल STEAM क्लबमा आबद्ध रहेका विद्यार्थीहरुले सुक्ष्म जीव (Micro-organism) प्रयोग गरी प्लास्टिकलाई कसरी बिनाश गर्न सकिन्छ भनेर अर्को अनुसन्धान शुरु गरिसकेका छन् ।

जनक माध्यमिक विद्यालयका विद्यार्थीहरूको विज्ञान र प्रविधिको प्रतिको यो अभिरुचिले देशभरका अन्य सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई समेत अनुसन्धान, नवप्रवर्तन, र व्यावहारिक सीप विकासमा अभिप्रेरितगर्न ठूलो योगदान पुर्‍याएको छ ।जिल्लाकै उत्कृष्ट प्रारम्भिक बाल विकास देखि कक्षा १२ सम्मको नमूना विद्यालय रहेको जनक मा. वि. मा साधारण धारमा विज्ञान र प्राविधिक तर्फ पशुविज्ञान कार्यक्रम समेत संचालनमा आएका छन् । हाल झन्डै एघार सय विद्यार्थी रहेको सो विद्यालयमा सिक्दै कमाउदै, पुष्प खेति, पशुपालन, कुखुरा पालन, बाख्रा पालन, विद्यार्थी उद्यमशीलता, STEAM सिकाइ सामग्री निर्माण लगायतका कार्यक्रमहरु चलिरहेका छ्न् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय