काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकआपसमा ठोक्किँदा एक वृद्धको मृत्यु भएको छ।
चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै बिहान भएको दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ठोक्किएका थिए।
मृतकको पहिचान बाराको निजगढ नगरपालिका–३ सिगौलका ७९ वर्षीय भक्तबहादुर खत्रीको रूपमा भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिए। कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो।
दुर्घटनामा कार चालक दिनेश थपलिया र डोरमणि सापकोटा घाइते भएका छन्। दुवै जनाको उपचार चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा भइरहेको छ।
ट्रक चालक ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तितुङ मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ का निवासी छन्।























