मंगलबार, बैशाख ०८, २०८३
नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँ : प्रधानमन्त्री

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ मा भएको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै सुशासन र निर्वाचनलाई आफ्नो मुख्य एजेन्डा भएको बताइन्।

उनले भनिन्, “गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देशमा नयाँ परिस्थिति बनेको यहाँहरु विदितै छ। हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ। आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने दृष्टिकोनका साथ तयारी धेरै अघि बढाइसकेका छौँ। निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न आह्वान गर्दै थपिन्, “मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा अगाडि बढाउने हाम्रो एक मात्र विकल्प निर्वाचन हो। समाजमा कुनै पनि खालको अराजकताले ठाउँ पाउनु हुँदैन। शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ। खराब तत्वको प्रतिरोधमा समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ।”

सिफारिस

ताजा समाचार

लोकप्रिय