काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटकी २६ वर्षीया रोशिका न्यौपाने गम्भीर घाइते भएकी थिइन्। उनको बल्खुस्थित वयोदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
प्रवक्ता सुवेदीका अनुसार दुर्घटना आज बिहान भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमै उपचार भइरहेको छ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



















