काठमाडौं । अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।
मंगलबार नख्खु कारागार पुगेर भेटेका खड्काप्रति लामिछानेले उनलाई राजनीतिमा आउन आग्रह गरेका थिए। यसबारे खड्काले भने, “उहाँले म चुनौती स्वीकार गर्ने व्यक्ति भएको बताउनुभयो र राजनीतिमा आउन भन्नुभयो। तर मैले अहिले चलचित्रमा करियर जारी राख्ने निर्णय गरेको छु, भविष्यमा परिस्थिति अनुसार राजनीतिक क्षेत्रमा आउँला।”
गोपिकृष्ण मुभीजको चलचित्र ‘रोज’ निर्माणदेखि नै लामिछानेसँग परिचित रहेको खड्काले बताए। उनले रविसँग ४५ मिनेट लामो संवाद गरेको र नयाँ सरकार आए पनि अपेक्षित काम सम्पन्न नभएको लामिछानेको गुनासो सुनेको जानकारी दिए।



















