काभ्रे । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नीति, विधि र पद्दतिभन्दा बाहिर नजाने स्पष्ट गर्दै सोही आधारमा पार्टीलाई अघि बढाइने बताएका छन्।
११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवनिर्वाचित नेतृत्वले निष्ठा, जिम्मेवारी र उत्साहका साथ पार्टी विधिपद्धतिभित्र रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष ओलीले एमालेको ११औँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको उल्लेख गर्दै हरेक दृष्टिकोणबाट यो महाधिवेशन सफल भएको दाबी गर्नुभयो। पार्टीभित्र समय–समयमा देखिएका केही कमजोरीहरू भविष्यमा दोहोरिन नदिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
‘हाम्रो एउटै आवाज हुनुपर्छ। दोस्रो विधान महाधिवेशनले पारित गरेको नीति अनुसार हामी अगाडि बढ्छौँ। बेताल र बेसुरमा होइन, ताल मिलाएर अघि बढ्छौँ,’ अध्यक्ष ओलीले भन्नुभयो।
पार्टीभित्र देखिएका असन्तुष्टि नेतृत्वसमक्ष मौखिक वा लिखित रूपमा पेस गर्न निर्देशन दिँदै उहाँले सार्वजनिक सञ्चार माध्यममार्फत असन्तुष्टि पोख्न नहुने आग्रह गर्नुभयो। सामूहिक हितविरुद्ध व्यक्तिगत विषय उठाउन नमिल्ने पनि उहाँको भनाइ थियो।
एमालेविरुद्ध विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गर्नुभयो। साथै अब पार्टीभित्र कुनै गुट वा प्यान नरहेको स्पष्ट पार्दै एमाले एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।



















