काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावना अनुसार सरकारले सुशासन र निर्वाचनलाई प्राथमिकता दिएको बताएकी छिन्। सरकार गठनको १०० दिन पूरा भएको अवसरमा जारी गरेको भिडियो सन्देशमा उनले चुनावको परिणामको भन्दा बढी लोकतन्त्र र राष्ट्रियता नै महत्त्वपूर्ण भएको धारणा व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले भने, “चुनावमा कसले जित्छ वा हार्छ, त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियता नै सबैभन्दा ठुलो कुरा हो। अराजकताले कसैलाई खुसी दिँदैन, केवल शान्ति र स्थिरताले समृद्धिको ढोका खोल्छ।” उनले थपे, “हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन, यो एक लामो र निरन्तर यात्रा हो।”
उनले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिएको र निर्वाचनको तयारीलाई मजबुत बनाइएको पनि स्पष्ट पारिन्। “एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका १३४२ हतियारमध्ये अधिकांश बरामद गरिसकिएको छ, साथै अन्य ३२ हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। क्षति ग्रस्त ४६५ प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्था सुदृढ गरिएको छ,” प्रधानमन्त्री कार्कीले भनिन्।
साथै, उनले निर्वाचन आयोगलाई आवश्यक रु ६ अर्ब ७३ करोडको बजेट सुनिश्चित गरिएको र आगामी चुनावको सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न सरकार पूर्णतया प्रतिबद्ध रहेको पनि जोड दिइन्।



















