काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी युवाहरुलाई आफ्नो आक्रोश र सपनालाई सडकको आन्दोलनभन्दा मतपत्रमार्फत व्यक्त गर्न आग्रह गर्नुभएको छ। जेन–जी आन्दोलनपछि गत भदौ २७ गते गठन भएको सरकारको १०० दिन पूरा भएको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा समाधानको बाटो निर्वाचन नै भएको स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री कार्कीले सडक आन्दोलनले प्रश्न उठाउने भए पनि त्यसको स्थायी समाधान जनताको मतबाट मात्रै सम्भव हुने बताउनुभयो। राज्यले प्रत्येक मतको सुरक्षा सुनिश्चित गर्ने भन्दै उहाँले युवाहरुलाई निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो।
उहाँले सरकार गठनपछि अनधिकृत र अवाञ्छित सुविधा कटौती गर्दै राज्यको खर्च नियन्त्रण गरिएको जानकारी दिनुभयो। मापदण्डविपरीत खटाइएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरिएको, ३८ वटा अनावश्यक कार्यालय खारेज गरिएको र ३२३ दरबन्दी कटौती गरिएको उहाँको भनाइ छ। यसबाट बचत भएको रु एक खर्ब १९ अर्ब बजेट विकासका ठूला आयोजनामा पुनःप्राथमिकीकरण गरिएको छ।
प्रधानमन्त्रीका अनुसार ‘हेलो सरकार’मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको छ भने काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी आपूर्ति सुनिश्चित गरिएको छ। साथै राष्ट्रिय प्रसारण लाइनमा थप १०१ मेगावाट विद्युत् जोडिएको छ।
जेन–जी आन्दोलनको सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको सौन्दर्य संवाद र मतबाट संकटको निकास खोज्नुमा रहेको बताउनुभयो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भई नेपाली सेनाको परिचालन समेत सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो।
आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद गरिएको र क्षतिग्रस्त ४६५ प्रहरी कार्यालय पुनःसञ्चालनमा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ। निर्वाचन आयोगका लागि रु ६ अर्ब ७३ करोड बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐन संशोधनमार्फत आठ लाख ३७ हजार नयाँ युवालाई मताधिकार प्रदान गरिएको उहाँले बताउनुभयो।
प्रधानमन्त्री कार्कीले निर्वाचन सारिने वा रोक्ने हल्ला निराधार भएको स्पष्ट गर्दै तोकिएको मितिमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरिनेमा सरकार चट्टानझैँ दृढ रहेको बताउनुभयो। उहाँले चुनावलाई हार–जितको प्रतिस्पर्धा होइन, लोकतन्त्र, सुशासन र राष्ट्रिय एकतालाई जिताउने अभियानका रूपमा लिन आग्रह गर्नुभयो।
भदौ २३ र २४ का घटनापछि देश शान्तिको बाटोमा फर्किएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सहिद घोषणा, घाइतेको उपचार र पुनःनिर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो। भ्रष्टाचार र अपराधका प्रकरणमा शक्तिको आड नहेरी अनुसन्धान भइरहेको र कानुन सबैका लागि समान रहेको सन्देश पनि उहाँले दिनुभयो।
अन्त्यमा प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका खोल्ने राष्ट्रिय अनुष्ठानका रूपमा सफल बनाउन सबैलाई एकताबद्ध हुन आह्वान गर्दै यसले नेपालको राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने विश्वास व्यक्त गर्नुभयो।



















