काठमाडौँ । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार, आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। उनी सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका निवासी थिए।
पाँचौँ तलाबाट भुईँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनाको तुरुन्त पछि उनलाई सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यादव नोबेल मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



















