काभ्रे । काभ्रेमा लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउने ५ जना सवारीचालक पक्राउ परेका छन् । अरनिको राजमार्ग अन्तर्गत बनेपा- १० जनागालमा सडक अनुशासन, सवारी दुर्घटना न्युनिकरण तथा रोकथाम गर्ने अभियान स्वरुप चालकहरूको लागुपदार्थ सेवन (लापसे) चेक गरिएको थियो ।
कुल ३४ जनाको परीक्षण गरिएकोमा ५ जनाले लापसे गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।परीक्षणमा पक्राउ पर्नेमध्ये अधिकांश काठमाडौँ–धुलिखेल रुटमा सञ्चालित महानगर यातायात, मयूर यातायात तथा काभ्रे बस सेवा समितिका चालक रहेको कार्यालयले जनाएको छ ।
सचेतनामूलक रूपमा गरिएको लापसे परीक्षणलाई निरन्तरता दिइने धाँजूले बताए । पक्राउ गरेर आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा लगिएको छ ।
सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाअञ्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो । लापसे चेकका लागि शीर मेमोरियल अस्पताल बनेपाको समन्वय र सहकार्य थियो । यस अघि पनि जिल्लाका विभिन्न ठाउँमा यस्तै परीक्षण गर्दा लागुपदार्थ सेवन गरेर सवारी चलाउनेहरू पक्राउ परेका थिए ।



















