काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २३औं स्थापना दिवस मनाएको छ। २०५९ सालमा १७औं वाणिज्य बैंकको रूपमा स्थापना भएको यस बैंकले एक विशेष कार्यक्रम आयोजना गरेर बार्षिकोत्सवको अवसरलाई मनाएको हो। बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत र अन्य कर्मचारीहरूको उपस्थितिमा यस वार्षिकोत्सवलाई भव्य र सभ्य रूपमा मनाएको हो।
कार्यक्रममा फुटसल प्रतियोगिता, टेबल टेनिस, र देशभर विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। यसैगरी, बैंकमा १५ वर्ष सेवा पूरा गरेका कर्मचारीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूलाई सम्मानित पनि गरिएको छ।
सिद्धार्थ बैंकले ११ स्थानहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। यी स्थानहरूमा विराटनगर, दमक, वीरगञ्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी पर्दछन्। यस कार्यक्रममा बैंकका कर्मचारीहरू, ग्राहकहरू, र स्थानीयवासी मिलेर कुल ४८८ जनाले रक्तदान गरेका छन्, जसमा ४३४ पुरुष र ५४ महिला रहेका छन्।
बैंकले आफ्नो २३ वर्षे यात्रा स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरूले संस्थागत एकता, कर्मचारीहरूको मनोबल वृद्धिका साथै सामाजिक उत्तरदायित्वमा बैंकको प्रतिबद्धता दृढ बनाउन मद्दत पुर्याउने लक्ष्य लिएको जनाएको छ।



















