काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम गर्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र प्रभावकारी माध्यम निर्वाचन भएको स्पष्ट गर्नुभएको छ। बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल बनाउनुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री कार्कीले अभियन्ता प्रसाईंले उठाएका कैयौँ माग जनताको हितसँग सम्बन्धित रहेको उल्लेख गर्दै तिनको सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो। साथै, आफ्ना असन्तुष्टि र मागहरू शान्तिपूर्ण ढंगले प्रस्तुत गर्न आग्रह गर्नुभयो।
देश राजनीतिक अस्थिरता, अन्योल र अशान्तिको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचन नै वर्तमान समस्याबाट निकास दिने लोकतान्त्रिक उपाय भएको बताउनुभयो। निर्वाचनलाई सफल बनाउन राष्ट्रिय अभियानका रूपमा सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै उहाँले अभियन्ता प्रसाईंसँग साथ दिन आग्रह गर्नुभयो।
मुलुक निर्वाचन प्रक्रियामा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प भएको प्रष्ट पार्नुभयो।
“धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई अहिलेको चरणमा ल्याएका छौँ। सबै पक्षको सहयोगमा तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी राजनीतिक निकास दिन सरकार अहोरात्र खटिएको छ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री कार्कीले सरकार सत्ताभोग वा सुखसयलका लागि नभई न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँका लागि प्रतिबद्ध रहेको बताउनुभयो। शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी भइसकेको र परिणाम क्रमशः देखिँदै जाने पनि उहाँको भनाइ थियो।



















