काभ्रे । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको उम्मेदवार बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सूची बुझाउने अन्तिम दिन सोमबार राति आयोगबाट निस्सा लिएर कांग्रेसले आज मात्रै औपचारिक रूपमा उम्मेदवार सूची दर्ता गराएको हो।
समानुपातिक उम्मेदवार सूचीअनुसार खस आर्य समूहबाट अर्जुननरसिंह केसी र आदिवासी जनजाति समूहबाट भीष्मराज आङदेम्बे पहिलो नम्बरमा रहेका छन्।
पार्टीले समानुपातिक उम्मेदवार छनोटमा नयाँ अनुहारलाई प्राथमिकता दिएको जनाएको छ। सूचीमा ३५ वर्ष उमेरमुनिका १५ जना उम्मेदवार समावेश छन्।
कांग्रेसले लामो समयको आन्तरिक छलफल र रस्साकस्सीपछि समानुपातिक बन्दसूचीको टुंगो लगाएको हो। उम्मेदवार छनोट प्रक्रियामा विवाद उत्पन्न हुँदा सूची तयार पार्ने काममा ढिलाइ भएको कांग्रेस स्रोतले जनाएको छ।



















