‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मतभेद जतिसुकै भए पनि आपसी संवाद, सहकार्य र सहमतिका आधारमा देशलाई राजनीतिक निकास दिन निर्वाचनको विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणमा सम्पन्न हुने स्वच्छ र निष्पक्ष निर्वाचन रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेकाले प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भइसकेको बताउनुभयो।
आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलहरू तथा युवाहरूबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उहाँले सबै पक्षको सक्रिय सहभागिताबाट निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
शान्ति र सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमार्फत मुलुकलाई राजनीतिक निकास दिन सरकार अहोरात्र खटिएकाले यस अभियानमा सबैले साथ दिन आग्रह गर्नुभयो।



















