मंगलबार, बैशाख ०८, २०८३
लौकही गोलीकाण्डपछि तनाव: शव सडकमा राखेर प्रदर्शन, निष्पक्ष छानबिनको माग

काभ्रे । सुनसरीको लौकही गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर विजय साहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। घटनाप्रति आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् र गोली चलाउने प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र हुँदै जाने मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रदर्शनकारीहरूले “निर्दोषको हत्या बन्द गर”, “निष्पक्ष छानबिन गर” लगायतका नाराबाजी गर्दै सडकमा बसेपछि सवारी साधनहरू लामो समयदेखि रोकिएका छन्। आक्रोशित भीडले स्थानीय प्रहरी बिटमा तोडफोडसमेत गरेको छ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने क्रममा अवस्था तनावग्रस्त बन्दा क्रस फायरिङको स्थिति सिर्जना भएको र आत्मरक्षाका लागि चलाइएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि थप सुरक्षाकर्मी परिचालन गरी क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।

तर स्थानीय बासिन्दाले प्रहरीको दाबी अस्वीकार गर्दै सेटिङको पैसा नदिँदा गोली हानिएको गम्भीर आरोप लगाएका छन्। उनीहरूले निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही नगरेसम्म शव नउठाउने अडान लिएका छन्।

घटनास्थलमा अहिले पनि तनाव कायमै रहेको छ। प्रशासनले स्थानीय अगुवा तथा मृतक परिवारसँग वार्ताको प्रयास गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको र घटनाबारे छानबिन सुरु गरिएको जनाएको छ। राजमार्ग खुलाउन प्रयास जारी रहे पनि स्थानीयको अडानका कारण तत्काल समाधान निस्कन सकेको छैन।

सिफारिस

ताजा समाचार

लोकप्रिय