काभ्रे । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासकी ९० वर्षीया मानकुमारी राईका लागि आज पनि छोरा लच्छुमान राई घर फर्कने आशा जीवित छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीतिक र आर्थिक असमानताविरुद्ध जेनेरेसन–जेड (जेनजी) युवाको आह्वानमा काठमाडौँमा भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी ३९ वर्षीय लच्छुमान राई सहिद बनेका थिए।
गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शनपछि राज्यको दमनका क्रममा गम्भीर घाइते भएका लच्छुमानको टाउकोमा गोली लागेको थियो। करिब १९ दिन ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचाररत रहँदै उहाँले असोज १३ गते संसार त्याग्नुभयो। उपचारका क्रममा लागेको अतिरिक्त खर्चले परिवारमाथि ठूलो ऋणको भार थपिएको छ।
१५ सन्तान र ४१ नाति–नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवनको सहारा कान्छा छोरा लच्छुमान नै हुनुहुन्थ्यो। कमजोर आर्थिक अवस्थाका कारण काठमाडौँ पुगेका लच्छुमान ज्यालामजदुरी गर्दै परिवारको जिम्मेवारी वहन गर्दै आउनुभएको थियो। अन्यायविरुद्ध आवाज उठाउने उहाँको चाहना जेनजी आन्दोलनमार्फत साकार भए पनि त्यसको मूल्य उहाँले जीवन दिएर चुकाउनुपर्यो।
सरकारले गत कात्तिक १७ गते लच्छुमानलाई सहिद घोषणा गर्दै परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरे पनि कानुनी जटिलताका कारण परिवारले रकम प्राप्त गर्न सकेको छैन। क्षतिपूर्तिको पहिलो हकदार श्रीमती र छोरी भए पनि उनीहरू सम्पर्कबाहिर रहेको परिवारको भनाइ छ।
हाल सहिद लच्छुमानको परिवार ऋण, बेरोजगारी र आधारभूत सुविधाको अभावबीच जीवन गुजारिरहेको छ। खानेपानी, सडक र स्थायी रोजगारीको समस्या उस्तै छ। आगामी फागुन २१ गते हुने आमनिर्वाचनले आफ्ना पीडा बुझ्ने नेतृत्व चयन हुने आशा परिवारले राखेको छ।



















