काठमाडौं । आज सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ ।
नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९ बिन्दुमा पुगेको छ भने बजार दिनभर हरियो रह्यो ।
२१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घट्यो र ८ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि वृद्धि भई अघिल्लो दिनको ५ अर्ब १ करोडबाट आज ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
प्रतिनिधिसभा निर्वाचनको वातावरण बन्दै जाँदा बजारमा सकारात्मक माहोल देखिएको छ । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी आकर्षण देखिँदै ३.०५ प्रतिशतले वृद्धि भयो । सबै समूहका सूचक बढेका छन् — बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ र व्यापार समूह ०.२२ प्रतिशतले बढे ।
आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर गरी ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले उक्लिएको छ । त्यस्तै दरामखोला हाइड्रोपावर, हिमस्टार ऊर्जा, नारायणी डेभलपमेन्ट बैंक र ट्रेड टावरको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।



















