काभ्रे । सशस्त्र प्रहरी बल, नेपालको २५औँ स्थापना दिवस २०८२ को अवसरमा Quick Impact Project (QIP) अन्तर्गत काभ्रेपलाञ्चोकस्थित ऐतिहासिक रोटरी धारो चौतारी पुनर्निर्माण तथा प्रतिक्षालय निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रे र चौरीदेउराली गाउँपालिका–५, विरुवाको सहकार्यमा सम्पन्न उक्त परियोजनाअन्तर्गत जीर्ण अवस्थामा पुगेको ऐतिहासिक रोटरी धारोलाई आधुनिक स्वरूपमा पुनर्निर्माण गर्नुका साथै स्थानीयवासीको सुविधालाई ध्यानमा राखी प्रतिक्षालयसमेत निर्माण गरिएको हो।
निर्माण कार्यको उद्घाटन सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बल नेपाल शान्ति सुरक्षा कायम गर्न मात्र सीमित नभई सामाजिक उत्तरदायित्व वहन गर्दै जनसेवामा समेत सक्रिय भूमिका खेल्दै आएको बताए । उनले विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्य, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, साथै जनचेतनामूलक कार्यक्रममार्फत सशस्त्र प्रहरी बल सधैँ जनताको साथमा उभिँदै आएको उल्लेख गरे ।
त्यसैगरी चौरीदेउराली गाउँपालिका–५ का वडा अध्यक्ष कृष्णप्रसाद गौतमले ऐतिहासिक महत्व बोकेको रोटरी धारो पुनर्निर्माण भएसँगै स्थानीयवासीले सुरक्षित खानेपानीको सुविधा पाउनुका साथै सार्वजनिक स्थल संरक्षणमा समेत उल्लेखनीय सहयोग पुगेको बताए। उनले यस कार्यका लागि सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरे ।























