आइतबार, फाल्गुण ०३, २०८२
काभ्रे महाभारतका अपिल योञ्जन बनिन् ‘फेस अफ एसवाई २०८२’ की सेकेन्ड रनरअप

काभ्रे । एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई २०८२’ (ब्रान्ड एम्बासडर हन्ट) को उपाधि मलैसा आचार्यले जितेकी छन्। प्रतियोगिताको ग्रान्ड फिनाले शुक्रबार राजधानीको वानेश्वरस्थित एभरेस्ट होटलमा सम्पन्न भएको हो।

अन्तिम नतिजाअनुसार सारा लामा फस्ट रनरअप र काभ्रे महाभारत गाउँपालिका–१ की अपिल योञ्जन सेकेन्ड रनरअप घोषित भइन्। टाइटल विजेता मलैसा आचार्यले ५ लाख रुपैयाँ नगदसहित १ करोड रुपैयाँ बराबरको एकवर्षे कन्ट्र्याक्ट प्राप्त गरेकी छन्। फस्ट रनरअपलाई ४ लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँ बराबरको कन्ट्र्याक्ट तथा सेकेन्ड रनरअपलाई ३ लाख रुपैयाँ नगद र ३० लाख रुपैयाँ बराबरको कन्ट्र्याक्ट प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजक एसवाई बजार नेपालका अनुसार करिब २ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि वितरण गरिएको यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो ब्रान्ड एम्बासडर हन्ट भएको दाबी गरिएको छ। कार्यक्रममा एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले स्थापित सेलेब्रिटीभन्दा गाउँ–घरमा लुकेका प्रतिभालाई पहिचान गरी ब्रान्ड एम्बासडर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगिता चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा डिजिटल अडिसनमार्फत उत्कृष्ट ५०० जना छनोट गरी उनीहरूलाई २ हजार रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गरिएको थियो। दोस्रो चरणबाट उत्कृष्ट ५० जनालाई १० हजार रुपैयाँ बराबरको भौचर दिइएको थियो। अन्तिम चरणमा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

यसैगरी, बाँकी उत्कृष्ट सात जनाले ‘पपुल्यारिटी अवार्ड’अन्तर्गत प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय कम्पनी हो। यसअन्तर्गत नेपालमा एसवाई प्यानल, एसवाई बजार र एसवाई इन्टरप्राइजेजलगायतका कम्पनीहरू सञ्चालनमा छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय