काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रशासनले उक्त निर्देशनसहित सूचना जारी गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार व्यक्तिगत नाममा इजाजत प्राप्त सबै प्रकारका हातहतियार माघ २१ गतेभित्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ। इजाजत प्राप्त हातहतियार तथा सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिइएको छ।
व्यक्तिगत सुरक्षाका लागि भन्दै आफूसँग रहेका इजाजत प्राप्त हातहतियार समयमै नबुझाए कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। सूचनामा उल्लेख भएअनुसार, बुझाइएका हातहतियार आगामी चैत २० गतेपछि सम्बन्धित कार्यालयमा भरपाई पेस गरेपछि सम्बन्धित हातहतियार धनीलाई मात्र फिर्ता गरिनेछ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लावासी सबैबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ।




















