आइतबार, फाल्गुण ०३, २०८२
बागमती र गण्डकीमा आज राष्ट्रियसभा सदस्य निर्वाचन, मतदान प्रक्रिया सुरु

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती र गण्डकी प्रदेशमा मतदान हुँदैछ । बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । मतदान आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । कर्मचारी परिचालन, मतदान केन्द्र निर्माण तथा मतपत्र व्यवस्थापन सबै कार्य सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेशको मतदान केन्द्र हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको छ । निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्नेछन् ।

बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि निर्वाचन हुँदैछ । महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन प्रतिस्पर्धामा छन् । अन्य क्लस्टरतर्फ नेकपा (एमाले)का डा प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीका प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले उम्मेदवारी दिएका छन् ।

एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि तीन सय ४८ मतदाता छन् । प्रदेशको कुल मतभार १० हजार ३ सय ५२ रहेको छ ।

यता, गण्डकी प्रदेशमा पनि आज दुई सदस्यका लागि राष्ट्रियसभा निर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार मतदानका लागि सबै तयारी पूरा भएको छ । निर्वाचन कार्यालय परिसरमै दुईवटा मतदान केन्द्र स्थापना गरिएको छ । एक केन्द्रमा ५९ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् भने अर्को केन्द्रमा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ६९ जनाले मतदान गर्नेछन् ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा उम्मेदवार उठाएका छन् । महिलातर्फ एमालेकी सम्झना देवकोटा र अन्यतर्फ नेपाली कांग्रेसका प्राध्यापक डा जगत् तिमिल्सिना उम्मेदवार रहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट महिलातर्फ गोमा लुइँटेल घिमिरे र अन्यतर्फ कपिल लामा उम्मेदवार छन् । राष्ट्रिय जनमोर्चाबाट महिलातर्फ अधिवक्ता लक्ष्मी बाँस्कोटा र अन्यतर्फ शङ्करप्रसाद बराल चुनावी मैदानमा छन् ।

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् । यहाँ प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय