बिहिबार, बैशाख १७, २०८३
काभ्रेमा उज्याले नेपालको घोषणापत्र सार्वजनिक, विकास र प्रविधिमा जोड

काभ्रे । उज्याले नेपाल पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काभ्रे क्षेत्र नम्बर २ की प्रत्यक्ष उम्मेदवार ई. ज्योत्सना सैंजुले घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

घोषणापत्रमा पर्यटनलाई देशको मुख्य आयस्रोत बनाउने लक्ष्यसहित राष्ट्रिय ध्वजावाहक हवाई सेवाको सुदृढीकरण, हवाई यातायात व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार नीति निर्माण गर्ने उल्लेख छ । साथै काभ्रेको भूगोललाई पर्यटनमैत्री बनाउने योजना अघि सारिएको छ ।

महिलामैत्री कार्यअन्तर्गत शिक्षा, सुरक्षा, उद्यमशीलता, नेतृत्व विकास तथा राजनीतिक समावेशीकरणलाई प्राथमिकता दिइएको छ । ऊर्जा क्षेत्रमा आगामी १० वर्षभित्र १० हजारदेखि १५ हजार मेगावाट विद्युत् उत्पादन गर्दै ऊर्जा निर्यातमा दक्षिण एसियाको नेतृत्व गर्ने लक्ष्य राखिएको छ । काभ्रेमा सुनकोशी तेस्रो लगायतका आयोजना निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।

कृषि क्षेत्रमा मल, बिउ, कोल्ड स्टोर, बिउ बैंक र सिँचाइमा सहजिकरण गर्दै कृषिमा आधारित आर्थिक केन्द्र बनाइने जनाइएको छ । बजार सुनिश्चिततासहित आधुनिक, यान्त्रिक तथा प्रविधिमैत्री कृषि नीति लागू गरिनेछ । महाभारत लेक क्षेत्रलाई जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रका रूपमा विकास गरी जिल्लालाई आत्मनिर्भर बनाउने तथा काठमा आत्मनिर्भर भई विदेशी काठ आयात रोक्ने नीति ल्याइने बताइएको छ ।

बृद्ध–बृद्धाको सम्मानजनक बसोबास, हेरचाह तथा सामाजिक संरक्षणका लागि प्रभावकारी व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ । खानेपानीतर्फ जिल्लाको आधारभूत आवश्यकता पूरा गर्ने र सडक सञ्जालतर्फ विगत पाँच वर्षदेखि अलपत्र परेको अरनिको राजमार्ग तथा बनेपा–बर्दिवास सडक द्रुत गतिमा निर्माण गर्ने उल्लेख छ ।

प्रविधि तथा नवप्रवर्द्धनमा एआई, रोबोटिक्स र स्टार्टअप क्षेत्रको अनुसन्धान, विकास र प्रवर्द्धनका लागि कुल बजेटको १ प्रतिशत छुट्याइने, वैदेशिक लगानी भित्र्याउन एकीकृत कानुन बनाई सहजिकरण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । पार्टीले भाषणभन्दा परिणाम दिने नेतृत्व प्रदान गर्ने दाबी पनि गरेको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय