सोमबार, बैशाख ०७, २०८३
स्थापना दिवसलाई मानवियतासँग जोड्दै प्रेस चौतारी काभ्रेको सामाजिक पहल

काभ्रे । प्रेस चौतारी नेपालको २८औँ स्थापनादिवसको अवसरमा प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले अटिजम तथा बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई न्यानो कपडा सहयोग गरेको छ ।

पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित सुस्त मनस्थिती पुनर्स्थापना केन्द्रमा रहेका बौद्धिक अपांगता भएका बालबालिका तथा युवालाई ट्रयाकसुट, टोपी र फलफूल वितरण गरिएको हो। कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाले पुनर्स्थापना केन्द्रका व्यवस्थापक रमेश खरेललाई सामग्री हस्तान्तरण गरेका थिए।

हाल उक्त पुनर्स्थापना केन्द्रमा बालबालिका र युवा गरी २० जना बौद्धिक अपांगता भएका व्यक्ति आश्रित छन् भने ५ जना कर्मचारी कार्यरत छन्। स्थापनादिवसलाई मानवियतासँग जोड्दै सकारात्मक सन्देश दिन न्यानो कपडा वितरण गरिएको अध्यक्ष तिमल्सिनाले बताए। उनले ग्रामीण क्षेत्रमा सञ्चालित यस्ता पुनर्स्थापना केन्द्रलाई राज्यबाट थप सहयोग आवश्यक रहेको उल्लेख गर्दै विशेष सहयोगको आवश्यकता रहेका बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको धारणा व्यक्त गरे।

न्यानो कपडा वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले स्थानीय मुद्दालाई उजागर गर्दै सन्देशमूलक कार्यक्रमका रूपमा स्थापनादिवस मनाएकोमा प्रेस चौतारीलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा नेकपा एमाले काभ्रेका प्रचार विभाग प्रमुख श्याम सापकोटा, वरिष्ठ पत्रकार मधुसुदन गुरागाईं, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारी काभ्रेका निवर्तमान अध्यक्ष भुवन रायमाझी, प्रेस चौतारी बागमती प्रदेश कमिटी सचिव जगत तामाङलगायत चौतारीकर्मीको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय