सोमबार, बैशाख ०७, २०८३
नमोबुद्धमा नेकपाको पालिका–स्तरीय विस्तारित बैठक सम्पन्न

काभ्रे । जिल्लाको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नमोबुद्ध नगर समितिको आयोजनामा पालिका–स्तरीय विस्तारित बैठक तथा काभ्रे क्षेत्र नम्बर–१ का उम्मेदवार दिननाथ गौतमसँग भेटघाट कार्यक्रम भकुण्डेको कुटुम्बा रिसोर्टमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) रहेका थिए ।

नगर समितिको निर्वाचन परिचालन समिति बैठक तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि दोङले पछिल्ला दिनमा देखिएका “नयाँ” भनिने पार्टीहरूमा विचार, सिद्धान्त, धारणा र स्पष्ट भिजनको अभाव रहेको उल्लेख गर्दै यस्ता हल्लाका पछि नलाग्न आग्रह गरे । “विचार र सिद्धान्तविहीन पार्टीलाई जिताएर पठाइयो भने भोलि आम मतदाता नै बिचलित हुन्छन्,” उनले भने । त्यसैले यस निर्वाचनमा नेकपालाई तारा चिन्हमा मतदान गरी अत्यधिक बहुमतका साथ जिताउन हार्दिक अपिल गरे।

दोङले नेकपा देश बचाउने र परिवर्तन ल्याउने पार्टीका रूपमा स्थापित भएको दाबी गर्दै आम जनताको माग सम्बोधन गर्ने असल पार्टी नेपाली कम्युनिष्ट पार्टी नै भएको उल्लेख गरे। वर्गीय समानता, समानुपातिक न्याय र जनताको समस्याबारे गहिरो समझ नेकपामै रहेको उहाँको भनाइ थियो। उम्मेदवार दिननाथ गौतम पात्र मात्र नभई सबैको एकताबद्ध प्रयासबाट जिताउनुपर्ने साझा जिम्मेवारी भएकोमा पनि उहाँले जोड दिनुभयो। साथै, पार्टी एकल निर्णयसहित चुनावमा होमिएको र १६४ निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने दृढ विश्वास व्यक्त गरे ।

कार्यक्रममा उम्मेदवार दिननाथ गौतमले निर्वाचित भएपछि स्थानीय आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । शुद्ध पानी, कृषि, शिक्षा, रोजगार, यातायात तथा स्रोत निर्धारणलाई प्राथमिकतामा राख्दै नीति निर्माणमा सक्रिय भूमिका खेल्ने उहाँको भनाइ थियो। कुन क्षेत्रमा कुन बाली उपयुक्त हुन्छ भन्ने परीक्षण गरी उत्पादनमुखी बनाउने दिशामा अघि बढ्ने प्रतिवद्धतासमेत उनले जनाए ।

भेटघाट कार्यक्रममा काभ्रे क्षेत्र नम्बर–१ निर्वाचन समितिका संयोजक तथा केन्द्रीय सदस्य गंगा बहादुर दोङ (बमध्वज), केन्द्रीय सदस्य माननीय रत्न ढकाल, टासी लामा, मुकुन्द गौतम, इन्द्र बहादुर थिङ (छिन्ताङ), रामहरि खनाल, समानुपातिक उम्मेदवार मिना पाख्रिन, रामदेवी तामाङ लगायत केन्द्रीय, प्रदेश, जिल्ला, नगर तथा वडा समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय