काभ्रे । काभ्रे क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार गणेश अधिकारी यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदाताको घर–आँगनमा पुगेका छन्। आफ्नो चुनाव चिन्ह “आँखीझ्याल” बोकेर उनी गाउँ–टोल, बस्ती–बस्तीमा पुग्दै जनताको साथ र समर्थन मागिरहेका छन्।
बिहानैदेखि साँझ अबेरसम्म निरन्तर अभियानमा खटिएका अधिकारीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पारदर्शी शासनबारे आफ्नो धारणा राखिरहेका छन्। “अब परिवर्तन भाषणले होइन, व्यवहारले देखाउने समय आएको छ,” उनले घरदैलोका क्रममा बताएका छन्।
स्थानीयले पनि उनलाई उत्साहजनक प्रतिक्रिया दिएको देखिएको छ। विशेष गरी युवापुस्ताले स्वतन्त्र उम्मेदवारप्रति चासो देखाउँदै नयाँ विकल्प खोजिरहेको संकेत मिलेको छ।
राजनीतिक दलहरूको भीडबीच स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा उत्रिएका अधिकारीले आफू कुनै दलको दबाबमा नपरी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
काभ्रे क्षेत्र २ मा चुनावी माहोल दिनानुदिन तातेको छ भने गणेश अधिकारीको घरदैलो अभियानले निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।























