काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने कार्य एउटै समूहबाट भएको आरोप लगाएका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले जेनजी आन्दोलनका क्रममा बालबालिकामाथि गोली चलाइएपछि त्यसको प्रतिक्रियास्वरूप सिंहदरबारमा आगजनी भएको दाबी गर्नुभयो।
उहाँले आफूहरूसँग सम्बद्ध व्यक्तिहरूमाथि ‘देश जलाउने’ आरोप लगाइँदै आएको उल्लेख गर्दै भन्नुभयो, “पहिले आन्दोलनमा सहभागी मानिसहरूलाई ताकीताकी गोली हानियो, त्यसपछि मात्रै संरचनामा आगो लगाइएको हो। संरचना जल्नु गलत हो, तर मानिसमाथि गोली चलाउनु अझ ठूलो गल्ती हो।”
लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको केन्द्र बनाउने समूहले नै सिंहदरबार जलाएको र बालबालिकामाथि गोली चलाएको आरोप लगाउँदै भन्नुभयो, “आजसम्म पनि सिंहदरबार कसले जलायो भनेर प्रश्न गरिन्छ। सिंहदरबार त्यसैले जलायो, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनायो र निर्दोष बालबालिकामाथि गोली चलायो।”
उहाँका अनुसार सिंहदरबार सञ्चालन गर्ने र आन्दोलनका क्रममा बालबालिकामाथि गोली चलाउने समूह एउटै रहेको दाबी गर्दै भन्नुभयो, “सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्।”



















