बुधबार, फाल्गुण २०, २०८२
फागुन १८ मध्यरातदेखि पर्सा–भारत नाका बन्द, होली मनाउन पनि कडाइ

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सामा भारतसँग जोडिएका अन्तरराष्ट्रिय नाका ७२ घण्टाका लागि बन्द गरिएका छन्।

जिल्ला प्रशासन कार्यालयले सोमबार मध्यरातदेखि लागू हुने गरी सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग सीमा जोडिएको भारतको विहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका नाका निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएको हो।

फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा आवागमन पूर्णरूपमा रोकिएको छ। निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा नाका बन्द गर्ने परम्परा रहेको उहाँले बताउनुभयो।

यसैबीच प्रशासनले फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई मर्यादित र निर्वाचनमैत्री ढङ्गले मनाउन आग्रह गरेको छ। सार्वजनिक स्थलमा भीडभाड, होहल्ला, जबर्जस्ती रङ दल्ने, मदिरा सेवन गरी सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न चेतावनी दिइएको छ। साथै कुनै पनि दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्न अंकित कपडा लगाएर पर्व मनाउन निषेध गरिएको छ।

मोटरसाइकल दुर्घटना बढ्ने भएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन पनि रोक लगाइएको छ। फागुन १९ गतेदेखि मतपरिणाम घोषणा नभएसम्म राजनीतिक प्रचारप्रसार, सभाजुलुस तथा डीजे लगायत ध्वनि प्रदूषण हुने कार्यक्रम सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय