काठमाडौँ । सिन्धुली जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलराज विष्ट ले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सबै मतदान केन्द्रमा कर्मचारीले आवश्यक व्यवस्था मिलाइसकेका छन् र अब फागुन २१ गते बिहानको पर्खाइमा रहेका छन्।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा मतदान सम्पन्न भएपछि सोही दिन राति १२ बजेसम्म सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिसक्ने तयारी गरिएको छ। मतपेटिका संकलन भएपछि भण्डारण कक्षमा सुरक्षित राखिने जनाइएको छ।
मुख्य निर्वाचन अधिकृत विष्टका अनुसार २२ गते बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरी ११ बजेपछि मतगणना सुरु गरिनेछ। सीसी क्यामेराको निगरानीमा हुने मतगणनाका लागि कार्यालय भवनको दोस्रो तलामा क्षेत्र नम्बर २ र पहिलो तलामा क्षेत्र नम्बर १ को गणनास्थल तयारी अवस्थामा राखिएको छ।
दुवै निर्वाचन क्षेत्रमा तीन–तीन स्थानबाट गणना गरिने व्यवस्था मिलाइएकाले सकेसम्म छिटो परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। कुनै अप्रिय घटना नभए मतगणना सुरु भएको २४ देखि ३६ घण्टाभित्र पूर्ण नतिजा आउने गरी २४ सै घण्टा गणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



















