बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सात जना उम्मेदवारको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत गरिएको हो। जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार एक स्वतन्त्रसहित सात जना उम्मेदवारले आवश्यक मत कटाउन सकेनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का रामबहादुर कुँवरले २९९ मत ल्याए। त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले समान ९४–९४ मत पाए।
यसैगरी आम जनता पार्टीका बिसनसिंह बोहराले ८२, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका छन्। उनीहरू सबैको जमानत जफत भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।
आइतबार सम्पन्न निर्वाचनमा ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए। तीमध्ये ६७ हजार ७३० मत सदर खसेको निर्वाचन कार्यालयले जनाएको छ।
अन्तिम मत परिणामअनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे भने नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका छन्। साथै नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।



















