काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बढ्दो वायु प्रदूषणबाट जोगिन सबैलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेका हुन्।
उनका अनुसार वायु प्रदूषणका कारण मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौलासम्बन्धी समस्या देखिन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ। दीर्घरोगी तथा गर्भवती महिलालाई समेत प्रदूषणले बढी असर गर्ने भएकाले सम्भव भएसम्म बाहिर ननिस्कन आग्रह गरिएको छ।
मन्त्रालयले बालबालिका, ज्येष्ठ नागरिक तथा दम–खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई विशेष सावधानी अपनाउन पनि सुझाव दिएको छ। बिहान र बेलुका बाहिर ननिस्कन तथा बाहिर निस्कनै परे मास्क प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।
पुराना सवारीसाधन, वन डढेलो, उद्योगधन्दा तथा निर्माण सामग्रीबाट निस्कने धुलो–धुवाँका कारण वायु प्रदूषण बढेको बताइएको छ। मन्त्रालयका अनुसार अझै करिब एक हप्तासम्म काठमाडौँमा प्रदूषणको अवस्था रहने सम्भावना छ, जसका कारण उपत्यकाको आकाश धुम्मिएको छ र घाम पनि प्रष्ट देखिन सकेको छैन।
यसैबीच वातावरण विभागका अनुसार मौसमी प्रतिकूलताका कारण देशका विभिन्न स्थानमा प्रदूषणको स्तर बढिरहेको छ। विशेषगरी काठमाडौँ र पोखरा लगायत ठूला सहरमा हावामा मसिना कणहरूको मात्रा बढेको जनाइएको छ।























