काभ्रे । लिन इन्टरनेशनल बोर्डिङ स्कुल, बनेपा नगरपालिका–८ ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव ‘रजत जयन्ती’ तथा अभिभावक दिवसको पहिलो दिनको कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालयका निर्देशक तथा कार्यक्रमका सभापति शिशिर भण्डारीका अनुसार रजत जयन्ती तथा अभिभावक दिवस दुई दिनसम्म सञ्चालन हुने छ। पहिलो दिन कक्षा प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुति दिए। सोही अवसरमा उनीहरूले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा हासिल गरेका उपलब्धिका आधारमा पुरस्कार पनि वितरण गरिएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक–अभिभावक समिति सदस्य शिवहरि थापाद्वारा स्थापित जेएसडी अक्षयकोषबाट नर्सरीदेखि कक्षा ३ सम्मका तीन जना जेहेन्दार विद्यार्थीलाई संरक्षक कल्पना थापामार्फत शैक्षिक सामग्री प्रदान गरिएको थियो।
विद्यालयका संस्थापक प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्यसहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीको सर्वाङ्गीण विकास र आत्मनिर्भर भविष्य निर्माण विद्यालयको मुख्य लक्ष्य रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि हिरा शर्मा नेपालले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै निजी र सार्वजनिक क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले विद्यालयको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।



















