काठमाडौँ । पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पिकअप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीका अनुसार आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु१च ३७४० नम्बरको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु८४प ४३४८ नम्बरको स्कुटर ठोक्किँदा मगर गम्भीर घाइते हुनुभएको थियो।
घाइते मगरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आउनुभएको थियो।



















