काठमाडौँ । मुलुकको विषम परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन सफल भएको बताउनुभएको छ।
निर्वाचन हुने वा नहुने भन्ने संशयबीच फागुन २१ गते शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।
रासससँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले देशप्रति चिन्ता गर्ने सबै नागरिक निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि खुसी भएको बताउनुभयो।
सरकारलाई दिइएको मुख्य जिम्मेवारी समयमै पूरा गर्न पाएकोमा आफूलाई सन्तोष लागेको उहाँको भनाइ छ।
जेनजी आन्दोलनपछि बनेको सरकारलाई सुरुआती दिनमा धेरै चुनौती सामना गर्नुपरेको उहाँले स्मरण गर्नुभयो। सीमित समय, राजनीतिक अविश्वास र आलोचनाबीच पनि मन्त्रिपरिषद्का सदस्यहरू मिलेर काम गरेको उहाँले बताउनुभयो।



















