शनिबार, आश्विन १७, २०८३
रास्वपाले सबैभन्दा धेरै ५७ सांसदको सूची पेस

काठमाडौँ । राजनीतिक दलहरूले पेस गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार सूचीलाई निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु गरिरहेको छ।

रुजु प्रक्रिया सकिएसँगै आयोगले आजै समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गरेका छ दलले समानुपातिकतर्फका ११० उम्मेदवारको सूची आयोगमा पेस गरेका थिए। आयोगले सो सूचीको आज परीक्षण गरिरहेको हो।

निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। त्यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ।

सदर मतमध्ये सबैभन्दा बढी मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सांसदको सूची पेस गरेको छ। त्यस्तै नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टीले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार–चार उम्मेदवारको सूची बुझाएका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार दलहरूले पेस गरेको सूची क्लष्टरअनुसार मिलेको वा नमिलेको भन्ने विषयमा रुजु प्रक्रिया जारी छ। सूचीमा त्रुटि नभए आजै निर्वाचित सांसदहरूको नाम सार्वजनिक गरिने आयोगले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय