काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि प्रहरीले टोली परिचालन गरेको छ।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका रेशम समसेली (२५), रविलाल दमाई (४१), रामबहादुर घर्ती (३४) र सुनिल समसेली (३०) रहेका छन्। त्यस्तै लेकवेशी नगरपालिका–८ गंगटे स्थायी घर भएका र हाल बर्दियामा बस्दै आएका दुर्गाबहादुर सिजाली (४५) पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार आइतबार बेलुका सिकार खेल्न गएका उनीहरू सम्पर्कमा नआएको खबर प्राप्त भएको हो।
प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। साथै खोजी कार्यमा समन्वयका लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको छ।



















