काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूको बढुवा र छनोट प्रक्रियामा बन्द प्रतिस्पर्धा लागू गर्न नसकिने स्पष्ट बताएका छन् ।
नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बन्द प्रतिस्पर्धाको अवधारणाप्रति आफू सैद्धान्तिक रूपमा सहमत नरहेको बताए। उनले संस्था र कर्मचारी दुवैलाई खुला प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन दिँदै प्रतिस्पर्धा सधैं खुला हुनुपर्नेमा जोड दिए। साथै, कर्मचारीको कार्यक्षमता र दक्षता अभिवृद्धिका लागि उत्प्रेरणा तथा उचित क्षतिपूर्ति प्याकेज आवश्यक हुने पनि उनले उल्लेख गरे।
उनले आगामी निर्वाचित सरकारले कर्मचारीका माग तथा कर प्रणालीका असंगतिहरू समाधान गर्ने विश्वास व्यक्त गरे। कोषको व्यावसायिकता र पारदर्शिता कायम गर्न कर्मचारीहरूलाई ध्यान दिन आग्रह गर्दै मन्त्री खनालले वर्तमान अवस्थामा देश राजनीतिक संक्रमण र सरकार परिवर्तनको चरणमा रहेको बताए। यस अवस्थामा दीर्घकालीन प्रभाव पार्ने कानुनी र नीतिगत निर्णयहरू हालको सरकारले नगर्ने स्पष्ट पार्दै उनले सेवा सुविधा र वृत्ति विकाससँग सम्बन्धित प्रशासनिक सुधारका कार्यमा भने सरकार सकारात्मक रहेको जानकारी दिए।



















