काभ्रे । जिल्लाका महिला तथा युवा उद्यमीहरूलाई लक्षित गर्दै नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काभ्रेले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
होटल हिमालयन होराइजनमा चैत ७ गते (मार्च २०) दिउँसो ४ बजेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रममा काभ्रेका महिला उद्यमीहरू तथा एनवाईईएफका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले व्यवसाय सञ्चालनका विविध पक्षमा आफ्ना अनुभव आदान–प्रदान गर्नुका साथै नयाँ ज्ञान हासिल गर्ने अवसर पाएका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य महिला उद्यमीहरूमा बजार व्यवस्थापनसम्बन्धी ज्ञान अभिवृद्धि गर्नु, करसम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्नु तथा महिला उद्यमी सशक्तीकरणमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ ।
एनवाईईएफ काभ्रेका अनुसार यस्ता कार्यक्रमहरूले उद्यमीहरूलाई व्यवसाय विस्तार, कानुनी प्रक्रियाको स्पष्ट बुझाइ र प्रभावकारी बजार व्यवस्थापनमा थप सक्षम बनाउने विश्वास लिइएको छ। साथै, सहभागीहरूबीच अनुभव साटासाट र आपसी सञ्जाल विस्तारको महत्वपूर्ण अवसर समेत सिर्जना भएको बताइएको छ।
कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। उनीहरूले उद्यमीहरूका जिज्ञासाको समाधान गर्दै व्यवहारिक सुझावहरू प्रदान गरेका थिए, जसले सहभागीहरूलाई आफ्नो व्यवसाय अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न प्रेरित गरेको आयोजकको भनाइ छ। कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष ज्योत्सना सैंजुले प्रस्तुति दिएका थिए । त्यसैगरी, अजय थापा र सुनिल श्रेष्ठले वक्ताका रूपमा आफ्ना धारणा राखेका थिए भने कार्यक्रमको समापन मञ्चका अध्यक्ष आसिश हुमागाईंले गरेको थियो ।























