काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयन गर्ने विषयमा निर्णय गर्न बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ।
चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुने तय भएसँगै सोही दिन ४ बजे संसदीय दलको नेता चयनबारे छलफल गर्न बैठक आयोजना गरिएको हो।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने र सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको थियो।



















