काभ्रे । सामाजिक सेवा र मानविय सहयोगका क्षेत्रमा सक्रिय हुँदै आएको जनसेवा केन्द्र नेपालले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कानुनविद् शिव प्रसाद सिग्देलले संस्था खोल्नु मात्रै ठूलो कुरा नभई त्यसलाई उद्देश्यअनुसार समाजमा स्थापित गर्नु चुनौतीपूर्ण रहेको बताए। उनले जिम्मेवारी बहन गर्नु सजिलो नभएको उल्लेख गर्दै वर्तमान समयमा केही व्यक्तिहरू बाहिरी देखावटी शैलीमा मात्र सीमित भएकोप्रति संकेत गरे । साथै, राज्य आफ्ना दायित्वबाट पछि हटिरहेको वर्तमान परिस्थितिमा युवाहरू समाजसेवामा अग्रसर हुनु सकारात्मक संकेत भएको उनले जोड दिए ।
त्यस्तै, अग्रज सञ्चारकर्मी तथा प्राध्यापक इश्वरी ओझा ले संस्थाले छोटो अवधिमा गरेको प्रभावकारी कार्यको प्रशंसा गर्दै त्यसले संस्थाको पहिचान आफैं स्थापित गरिसकेको बताए। उनले संस्थापक टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कामको अपेक्षा व्यक्त गरे।
कार्यक्रमका सभापति तथा संस्थापक अध्यक्ष सरोज उपाध्याय ले मानव जीवन केवल व्यक्तिगत हितका लागि मात्र नभई समाजका लागि पनि केही गर्नुपर्ने धारणा राखे। उनले समाजप्रति उत्तरदायी जनशक्ति उत्पादन गर्नु पनि सेवा नै भएको उल्लेख गर्दै युवाहरूलाई श्रम र सेवाको महत्व बुझाउन आवश्यक रहेको बताए। साथै, संस्थालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै देशभरका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराए।
कार्यक्रममा संस्थाकी सचिव बिपशना शाक्य ले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। साथै, संस्थालाई सहयोग गर्ने विभिन्न संघ–संस्थालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।



















