काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने स्पष्ट पारे। साथै, उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार सधैं सचेत रहेको बताए।
गृहमन्त्रीले नेपालमा अवैध रूपमा बसेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि आग्रह गरेका थिए। साथै, चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग अघि बढाउन र द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्न पनि अनुरोध गरे।
दुवै पक्षबीच सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो। चिनियाँ पक्षले यसमा सकारात्मक धारणा राख्दै नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्परता जनाएको छ।
भेटमा सिन्धुपाल्चोकको तातोपानी नाकामा आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति पनि चर्चा भएको थियो। राजदूत माओमिङले सीमाक्षेत्रमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै त्यस्ता समाचार भ्रामक भएको बताए।
गृहमन्त्रालयका अनुसार भेटमा नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यलाई नयाँ उचाइमा पुर्याउने सहमति व्यक्त गरिएको छ।



















