शनिबार, बैशाख ०५, २०८३
सामाजिक सञ्जालमा स्वास्थ्य सल्लाह दिने चिकित्सकलाई नियन्त्रणमा ल्याउन काउन्सिल सक्रिय

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जालमार्फत परीक्षण नगरी औषधि सिफारिस नगर्न कडा निर्देशन दिएको छ।

काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममार्फत ‘अनलाइन परामर्श’का नाममा औषधि सुझाव दिने अभ्यास तुरुन्त बन्द गर्न आग्रह गर्नुभएको हो।

काउन्सिलले चिकित्सकहरूलाई बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न, उपचारसम्बन्धी सुझाव वा औषधि सिफारिस नगर्न स्पष्ट रूपमा सचेत गराएको छ। यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने काउन्सिलको भनाइ छ।

डा. देवका अनुसार स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले उचित परीक्षण, आवश्यक जाँच तथा प्रत्यक्ष चिकित्सकीय मूल्याङ्कन विना औषधि सेवन गर्न सुझाव दिनु जोखिमपूर्ण हुन्छ। यसले अनावश्यक जटिलता बढाउनुका साथै दीर्घकालीन असर पार्न सक्ने बताइएको छ।

काउन्सिलले सर्वसाधारणलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगर्न आग्रह गर्दै, योग्य र दर्ता प्राप्त चिकित्सकसँग परामर्श गरेर मात्र औषधि सेवन गर्न सुझाव दिएको छ। साथै, बिरामीको गोपनीयता कायम राख्दै आवश्यक परेमा मात्र सामग्री सार्वजनिक गर्दा पहिचान खुल्न नदिन पनि काउन्सिलले निर्देशन दिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय